एनआरएनए विवाद : आरके शर्माले गराए सर्वोच्चमा रिट दर्ता

4.5K Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादमा अध्यक्ष आरके शर्माले सर्वोच्च अदालतमा नयाँ रिट दर्ता गराएका छन् । उनले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् । एनआरएनएको अर्को समूहलाई कुनै पनि गतिविधि नगर्न/नगराउन माग गर्दै रिट दर्ता गराएको सर्वोच्चका प्रवक्ता  अच्युत कुईकेलले बताए । एनआरएनएमा शर्मा र बद्री केसी दुई पक्षबिच विवाद भइरहेको छ ।

सर्वोच्चले पछिल्लो समय केसी पक्षलाई काम गर्न बाटो खुलेपछि शर्माले सर्वोच्चमा नयाँ रिट दर्ता गराएका हुन् । यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधीन छ । रिटमा एनआरएनको एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकाले त्यसअघि केसी समूहले साधारण सभा बोलाएकाले रोक्न माग गरिएको छ ।  यस्तै रिटमा न्यायाधीश सपना प्रधान मल्लसहितको इजलासले केसी समूहलाई वैधानिकता नदिएकाले कुनै गतिविधि नगर्न आदेश माग गरिएको छ । अदालतमा मुद्दा विचाराधीन भएकाले केसी समूहले केही गर्न नपाउने रिटमा दाबी छ ।