नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घरको फोहोर छिमेकीको घरमा फ्याँक्दैमा कोही बहादुर नहुने भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहलक्षित अभिव्यक्ति दिएका छन् ।
केही दिनअघि बालेनको निर्देशनमा काठमाडौं महानगरेको गाडीले सडक विभाग अगाडि फोहोर खसालेको थियो । सोही घटनातर्फ लक्षित गर्दै ओलीले शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा ओलीले बालेन र काठमाडौं महानगरपालिकाको नाम त लिएनन् तर घरअगाडि फोहोर फालेको प्रसंग निकालेर त्यस्तो प्रवृत्ति तानाशाही भएको बताए ‘अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ ? कसैले गलत गर्यौं भन्न सक्दैन । के हालत होला ? यो गलत हो,’ अध्यक्ष ओलीले भने ।
त्यस्ता प्रकारका क्रियाकलाप स्वतन्त्र र सभ्य समाजमा हुन नहुने ओलीको भनाइ छ । महत्वपूर्ण पदमा बसेको व्यक्तिले त्यस्तो व्यवहार गर्नु उचित नहुने भन्दै उनले त्यसको विरोध गर्न डराउन नहुने बताए ।
‘यो महत्वपूर्ण पोस्टमा बस्ने मान्छेले गर्न मिल्ने ब्यवहार होइन, त्यत्ति पनि भन्न सकिँदैन, लाचारीबाट फाइदा लिएर एउटा एनार्किजमको बोलवाला भइरहेको छ, हामीले हाम्रो समाजलाई एनार्किस्ट बनाउन खोजेको होइन, डेमोक्रेटिक बनाउन खोजेको हो’, ओलीले भने ।
यसो त पछिल्लो समय एमाले अध्यक्ष ओलीले निरन्तर बालेनलक्षित फायर खोल्दै आएका छन् । केही समयअघि एक कार्यक्रममा गरिबको बस्ती भत्काएको भन्दै उनले बालेनको चर्को आलोचना गरेका थिए ।