रौतहट । बाँदर धपाउने प्रयास गर्दा भरुवा बन्दुकबाट निस्किएको छर्राले लागेर बारामा एक स्थानीय घाइते भएका छन् । घटनापछि प्रहरीले बन्दुक पड्काउने व्यक्तिलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा सोमबार साँझ भएको घटनामा सोही ठाउँका ३० वर्षीय गोविन्द ठाडा मगर पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मगरले सोमबार साँझ करिब ६ः३५ बजे घर आसपासमा आएको बाँदर धपाउने उद्देश्यले भरुवा बन्दुक पड्काएका थिए । बन्दुक पड्काउने क्रममा निस्किएको छर्रा लागेर स्थानीय ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका थिए ।
अचानक छर्रा लागेर घाइते भएका रमौलीलाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डक लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरेको थियो ।
डीएसपी मीनबहादुर घलेको कमान्डमा सात जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट असई सञ्जयकुमार वर्माको नेतृत्वमा दुई जना तथा इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दयाकृष्ण भट्टको कमान्डमा २२ जना प्रहरी घटनास्थल पुगेका थिए ।
प्रहरी टोलीले घटनामा प्रयोग भएको भनिएका दुई नाल भरुवा बन्दुक बरामद गर्नुका साथै गोविन्द ठाडा मगरलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ । घटनाको प्रकृति, बन्दुकको प्रयोग तथा अन्य विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।