काठमाडौँ : नेपालमा बाढीबाट भएको क्षति पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग घोषणा गरेको छ।
न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटमा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले उक्त सहयोगको घोषणा गरेकी हुन्।
भेटका क्रममा हुकरले बाढीका कारण प्रभावित नेपाली नागरिकप्रति समवेदना व्यक्त गर्दै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति पनि सहानुभूति व्यक्त गरिन्।
घोषित सहयोगमध्ये १० मिलियन डलर यातायात पूर्वाधार पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क विस्तारका लागि प्रयोग गरिनेछ। यसअन्तर्गत अमेरिकी कम्पनीबाट स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न सकिने पुल खरिद गरी प्रभावित क्षेत्रमा उपलब्ध गराइनेछ।
त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, संरक्षण, जीविकोपार्जन तथा हिउँदका आवश्यकतामा थप ८ मिलियन डलर खर्च गरिने अमेरिकी पक्षले जनाएको छ।
विपद् व्यवस्थापन तथा बाढीपछिको प्रतिकार्य क्षमता बढाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन थप १३ मिलियन डलर खर्च गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
नयाँ सहयोग घोषणासँगै नेपालमा बाढी प्रतिकार्य र पुनःस्थापनाका लागि अमेरिकाले उपलब्ध गराउने कुल सहायता ३६ मिलियन अमेरिकी डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ।
अमेरिकाले नेपाल सरकारसँग समन्वय गर्दै आवश्यकताको पहिचानका आधारमा आगामी दिनमा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ।