यातायात क्षेत्रका विकृति र चालकको सुरक्षामा सरकार गम्भीर बन्नुपर्छ : नेकपा

  • मिति : अशोज ६, २०८३
174 Shares

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीले यातायात क्षेत्रमा देखिएका बेथिति र चालकमाथिको असुरक्षाबारे सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समयमा प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक यातायातको सुरक्षा र नियमनमा सरकारले तत्काल ठोस कदम चाल्न माग गरेका हुन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राजधानी यातायात विभाग अगाडि सोमबार बा ५ ख ४२७४ नम्बरको बसको चालक र ट्राफिक प्रहरीबीच विवाद भएको उनले बताए । सो घटनामा चालकले नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा भएको विवादमा केही समयपछि सोही बसमा आगलागी भयो। सोही बसमा सवार चालक अर्जुन लामा‘‘दुङ’ को उपचारका क्रममा दुःखद निधन भएको उनले बताए ।

प्रमुख सचेतक दुलालले सोही स्थानमा केही महिना अगाडि गणेश नेपाली भन्ने व्यक्तिसँग भएको विवाद र हालको घटनालाई जोड्दै सुरक्षा व्यवस्था र नियमनकारी निकायको भूमिकामाथि प्रश्न उठाए। उनले भने, ‘नेपाल प्रहरीको ट्राफिक बल, जसले नियमन गर्छ, त्यही बल र चालकबीचको विवादले एक व्यक्तिको ज्यान जानु गम्भीर विषय हो। यो घटना केवल एउटा चालकको आवेशको विषय मात्रै होइन, यो समग्र राज्यको नियमन प्रणालीमाथिको प्रश्न हो।’

दुलालले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न, यातायात मजदुर र चालकहरूको जीवन सुरक्षाका लागि सामाजिक सुरक्षा कोषलाई पूर्ण रूपमा लागू गर्न, सवारी चालक अनुमति पत्र को व्यवस्थालाई वैज्ञानिक र पारदर्शी बनाउन, क्षमता र योग्यता भएका व्यक्तिलाई लाइसेन्सबाट वञ्चित गर्ने झन्झटिलो व्यवस्था हटाउन, ट्राफिक प्रहरी र चालकबीचको सम्बन्ध मर्यादित र अनुशासित बनाउन काउन्सिलिङको व्यवस्था गर्न माग गरे ।

उनले भने, ‘आज चालकहरूले असुरक्षित महसुस गरिरहेका छन्। नियम उल्लंघन गरेको दाबी गर्ने र चालकले त्यसलाई अस्वीकार गर्ने विवादबीच चालकले आफ्नो जीवन गुमाउनुपरेको छ। सरकारले केवल हेर्ने र मूकदर्शक बन्ने होइन, मजदुरहरूको सुरक्षाका लागि तत्काल ठोस पहल गर्नुपर्छ।’