काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रसुवा बाढीप्रभावितहरू होल्डिङ सेन्टरबाट स्थानान्तरण हुँदै गएको बताएका छन्। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारले अस्थायी बसोबासका लागि घरभाडा उपलब्ध गराउन थालेपछि होल्डिङ सेन्टर छाड्नेको क्रम बढेको जानकारी दिएका हुन्।
सरकारले अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने निर्णय गरेको छ। विपद्पछि स्थापना गरिएका ३७ वटा होल्डिङ सेन्टरको सङ्ख्या घटेर २० मा झरेको उप्रेतीले बताए। चार जनासम्मको परिवारलाई १५ हजार र थप सदस्यका लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।
होल्डिङ सेन्टरमा बस्नेको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ। पछिल्लो विवरणअनुसार नुवाकोटमा ३२४, रसुवामा ७८६ र धादिङमा १२१ जना गरी १ हजार ६६१ जना प्रभावितहरू मात्र होल्डिङ सेन्टरमा रहेका छन्।
‘विपद् भइसकेपछि प्रभावितहरूलाई ३७ वटा होल्डिङ सेन्टरमा राखिएकामा अहिले त्यो सङ्ख्या घटेर २० मा झरेको छ,’ कार्यकारी प्रमुख डा. उप्रेतीले भने, ‘सरकारले १५ हजार रुपैयाँसम्म घरभाडा दिने निर्णय गरेपछि उहाँहरू भाडाको घरमा जानुभएको हो।’
रसुवा बाढीमा परी हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको उनले जानकारी दिए। मृतकमध्ये ३३६ जना महिला र ५८५ जना पुरुष रहेका छन् भने ५३० जनाको पहिचान डीएनए परीक्षणबाट गरिएको उनले बताए।
मृतकका परिवारका १ हजार ९९७ आफन्तले १ हजार २८६ जनाको डीएनए नमुना दिएका छन्। ६३६ जना विदेशी नागरिकसहित हालसम्म ५ हजार ७८६ जना बेपत्ता रहेका छन्। उनीहरूको खोज, उद्धार तथा राहतका लागि २० हजार ९२९ सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।
रसुवागढी, लाङटाङ र चिलिमेमा खोज तथा उद्धारको काम सकिएको छ भने माथिल्लो त्रिशूली, त्रिशूली-३ ‘ए’ र त्रिशूली-३ ‘बी’ क्षेत्रमा उद्धार जारी छ। माथिल्लो त्रिशूली क्षेत्रमा जालीमा अड्किएका मानव अङ्ग फेला परेको उप्रेतीले बताए। उद्धारमा चीन, भारत, दक्षिण कोरिया, युएई, मलेसिया र अस्ट्रेलियाका विज्ञ टोलीले सहयोग गरेका थिए।
बाढीबाट बरामद १ हजार ४५१ शवमध्ये १ हजार २९२ वटा सुरक्षित भण्डारणमा राखिएको र १११ शव परिवारलाई हस्तान्तरण गरिएको छ। डीएनए परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा १ हजार ९५७ र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा १ हजार ७२८ गरी ३ हजार ६८५ नमुना प्राप्त भएका छन्। डीएनए परीक्षणमा सहयोग गर्न भारत, सिङ्गापुर, दक्षिण कोरिया, अमेरिका र चीनका विज्ञ टोली नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका छन्।