काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ भने कम्पनीमा कार्यरत कर्मचारीहरूले एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।
भदौ १६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गरेको छ।
कम्पनीका अनुसार उक्त रकम बाढी प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा उपयोग गरिनेछ। साथै, प्रभावित परिवारको सुरक्षित उद्धार तथा घरबारविहीन नागरिकहरूको पुनःस्थापना यथाशीघ्र गर्नुपर्ने आवश्यकता रहेको कम्पनीले जनाएको छ।
प्राकृतिक विपद्, महामारी तथा अन्य संकटका समयमा स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको कम्पनीले जनाएको छ। संकटको यस घडीमा बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनी र कर्मचारीहरूले संयुक्त रूपमा उक्त सहयोग गर्ने निर्णय गरेका हुन्।