११औँ साधारणसभा सम्पन्न : रिकन्डिसन अटो व्यवसायमा पारदर्शिता र विश्वसनीयतामा जोड

  • मिति : भदौ ७, २०८३
837 Shares

काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको एघारौं वार्षिक साधारणसभा २०८३ भाद्र ६ गते सम्पन्न भएको छ। संघका अध्यक्ष प्रविन लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी दिल शोभा श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रम संघका महासचिव कुमार बोगटीले सञ्चालन गरेका थिए ।

साधारणसभामा संघको वार्षिक गतिविधि, रिकन्डिसन अटो व्यवसायमा देखिएका समस्या, व्यवसायीका चुनौती तथा आगामी दिनमा संघले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा व्यवसायीहरूले अटो बजारमा देखिएको उतारचढाव, व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या तथा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक पहलका विषयमा समेत धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिल शोभा श्रेष्ठले व्यवसायीहरूले आफ्नो व्यवसायसँगै समाजप्रतिको जिम्मेवारीलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताइन्। उनले इमानदारी, पारदर्शिता र सेवाभावका साथ व्यवसाय सञ्चालन गर्न सकेमा व्यवसायीप्रतिको जनविश्वास अझ बढ्ने धारणा व्यक्त गरिन्। “व्यवसाय भनेको नाफा कमाउने माध्यम मात्र होइन, समाजप्रतिको जिम्मेवारी पूरा गर्ने अवसर पनि हो। व्यवसायीहरूले सेवाभाव र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउनुपर्छ,” उनले बताइन्।

त्यस्तै, संघका अध्यक्ष प्रविन लामिछानेले नेपालमा रिकन्डिसन अटो व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन संघले निरन्तर पहल गरिरहेको बताए। उनले व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष लामिछानेले रिकन्डिसन अटो व्यवसायमा संलग्न व्यवसायीहरूको हकहित संरक्षणसँगै ग्राहकलाई गुणस्तरीय सेवा र विश्वसनीय कारोबारको वातावरण निर्माण गर्नु संघको प्राथमिकता रहेको बताए। उनले व्यवसायीहरूबीच एकता र सहकार्य बलियो बनाएर क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

साधारणसभामा संघको आगामी कार्ययोजना, व्यवसायीको हित संरक्षण तथा रिकन्डिसन अटो क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक कदमका विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा रिकन्डिसन अटो व्यवसायीहरूको सहभागिता रहेको थियो।