उपत्यकासहित १४ जिल्लामा आकस्मिक बाढीको जोखिम

  • मिति : भदौ ३, २०८३
344 Shares

काठमाडौँ : देशका मुख्य ठुला नदीहरूमा बहाव सामान्य रहे तापनि केही पहाडी तथा हिमाली जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै तिनका सहायक नदीहरूमा पानीको तह सतर्कता विन्दुभन्दा तलै छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हाललाई सुरक्षित अवस्थामै रहेको महाशाखाले जनाएको छ।

ठुला नदीमा तत्काल ठुलो बाढीको जोखिम नरहे पनि साना नदी तथा खोलामा भने बहाव तीव्र रूपमा बढ्न सक्नेछ। महाशाखाका अनुसार ‘रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बझाङ र दार्चुला आसपास भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘ती नदीहरूमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहनेछ।’

बाढीको यो जोखिम आगामी दिनहरूमा पनि जारी रहने पूर्वानुमान छ। बिहीबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश भई बहने केही साना नदीहरूमा बहाव अचानक बढ्न सक्नेछ। यसैगरी शुक्रबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साना नदी तथा खोलाहरूमा पनि आकस्मिक रूपमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।