काठमाडौँका पाँच स्थानबाट आज ग्यास बिक्री गरिने

  • मिति : साउन ३०, २०८३
480 Shares

काठमाडौँ : नेपाल आयल निगमले आज शनिबार काठमाडौँका विभिन्न पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका केन्द्रबाट उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था मिलाएका हुन्। निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरिनेछ।

त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरमा नेपाल र एचपी, कीर्तिपुरस्थित राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

वसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, भानु र ओम ब्रान्ड तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरिने निगमले जनाएको छ।

ग्यास खरिद गर्न उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्नेछ। तोकिएका केन्द्रबाट बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म ग्यास खरिद गर्न सकिनेछ। निगमले यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका उपभोक्ताका लागि मात्र गरिएको जनाएको छ।