काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर र काठमाडौंका विभिन्न खाद्य व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा केही व्यवसायमा सरसफाइ तथा व्यवस्थापनमा सुधार गर्न निर्देशन दिएको छ भने केही खाद्य पदार्थको नमुना थप अनुसन्धानका लागि संकलन गरेको छ।
विभागका अनुसार २०८३ साल साउन २५ गते भक्तपुरका तीनवटा डेरी उद्योगमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा शिवम डेरी प्रा.लि., भक्तपुर–२ मा सरसफाइ सामान्य र व्यक्तिगत सरसफाइ सन्तोषजनक पाइए पनि प्रशोधन कक्षमा उपयुक्त पर्दा नराखिएको तथा भण्डारण कक्षमा स्किम मिल्क पाउडर (SMP) र चिनी राखिएको भेटिएको थियो। उद्योगलाई दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका, २०७५ बमोजिम कार्य गर्न निर्देशन दिइएको छ।
त्यस्तै महेश्वोरी डेरी उद्योग, भक्तपुर–८ मा प्रयोगशाला व्यवस्थित नरहेको र सरसफाइ सामान्य रहेको पाइएको विभागले जनाएको छ। उद्योगमा दूध प्रशोधन नभएको तथा दही उत्पादनका लागि अनुमतिपत्र नलिएको समेत भेटिएको छ। विभागले नियमित सरसफाइ, चिस्यान कक्ष र प्रयोगशाला व्यवस्थित गर्न तथा दही उत्पादनको अनुमतिपत्रको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
ओम संजीवनी डेरी प्रा.लि., भक्तपुर–८ मा सरसफाइ सामान्य भए पनि भण्डारण कक्षमा SMP र चिनी राखिएको पाइएको थियो। विभागले नियमित सरसफाइ गर्न र चिस्यान कक्ष व्यवस्थित गर्न निर्देशन दिएको छ।
यसैगरी, विभागले प्राप्त गुनासोका आधारमा र्यापिड रेस्पोन्स मोडालिटी अन्तर्गत काठमाडौंका तीन खाद्य व्यवसायमा समेत आकस्मिक अनुगमन गरेको छ। जेन जिप्स क्याफे, कीर्तिपुर–८ मा गुणस्तरहीन पपकर्न बिक्री गरिएको भन्ने गुनासोपछि निरीक्षण गर्दा कच्चा पदार्थ भण्डारण तथा पपकर्न प्रशोधन कक्षको सरसफाइ सन्तोषजनक पाइएको थियो। विभागले मकैलाई केलाएर र सुकाएर मात्र प्रशोधन गर्न निर्देशन दिँदै मकै र पपकर्नको नमुना थप अनुसन्धानका लागि संकलन गरेको छ।
पूजा स्वीट्स, कीर्तिपुर–९ मा तयारी खाद्य पदार्थमा साङ्ला भेटिएको भन्ने गुनासोपछि गरिएको निरीक्षणमा मिठाई उत्पादन कारखानाको सरसफाइमा कमी देखिएको विभागले जनाएको छ। विभागले नियमित सरसफाइ र प्रभावकारी कीट नियन्त्रण गर्न, तयारी खाद्य पदार्थलाई मसीजन्य पत्रपत्रिकामा प्याक नगर्न तथा देखिएका कैफियत सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
त्यस्तै होली माउन्टेन फुड एण्ड बेभरेज प्रा.लि., चन्द्रागिरी–८ मा जारको पानीमा नराम्रो गन्ध आएको गुनासोपछि अनुगमन गरिएको थियो। उद्योगको सरसफाइ तथा पूर्वाधारको अवस्था सामान्य पाइएको विभागले जनाएको छ। थप अनुसन्धानका लागि प्रशोधित पिउने पानीको जारको नमुना संकलन गरिएको छ।
विभागका अनुसार २०८३/०४/२५ गते गरिएको यी दुई चरणको अनुगमनमा कुल ६ वटा खाद्य व्यवसाय निरीक्षण गरिएको छ। अनुगमनका क्रममा देखिएका कैफियत सुधार गर्न निर्देशन दिनुका साथै आवश्यक खाद्य पदार्थको नमुना संकलन गरी थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ।