काठमाडौँ : पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक म्याग्दीको धौलागिरी गाउँपालिका–२ लुलाङका १८ वर्षीय दिनेश बिक घाइते भएका छन्, भने पछाडि सवार १६ वर्षीय अनिल बिकको मृत्यु भएको छ ।
घटनास्थलमा दुवै जना घाइते भएका थिए । त्यसपछि दुवै जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको थियो । अस्पतालमा अनिललाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको टाउकामा गम्भीर चोट लागेको थियो ।
घाइते रहेका मोटरसाइकल चालक दिनेशको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । उनी हल्का बोल्न सक्ने अवस्थामा रहेका र स्वास्थ्य अवस्था मध्यम रहेको भनिएको छ ।