नाट्टा नेतृत्वका लागि जिस्वा तुलाधरको प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धतासहित चुनावी मैदानमा

  • मिति : साउन २४, २०८३
191 Shares

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी दुई वर्षे कार्यकालका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ।

शनिबार बिहान काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत तुलाधर नेतृत्वको समूहले प्यानल सार्वजनिक गरेको हो। नाट्टाको ५९औँ वार्षिक साधारणसभा यही साउन २९ गते हुने तय भएको छ । यही दिन २५औँ कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ।

तुलाधर समूहले ‘सबल नेतृत्व, सुरक्षित व्यवसाय – समृद्ध पर्यटनका लागि नाट्टा’ भन्ने मुख्य नारासहित प्यानल घोषणा भएको हो । स्वा टुर्स एन्ड ट्राभलकी प्रबन्ध निर्देशकसमेत रहेकी अध्यक्षकी प्रत्याशी तुलाधरको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे (हिमालयन क्लब टुर्स एन्ड ट्राभल्स), उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा (एडभेन्चर आउटडोर एक्स्कर्सन), महासचिवमा सुशिल पन्त (गोरखा इन्टरनेसनल ट्राभल्स), सचिवमा रमेश घिमिरे (वेल नेपाल टुर्स एन्ड ट्रेक्स), कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल (काठमाडौं होलिडे टुर एन्ड ट्राभल) र सहकोषाध्यक्षमा डा. बिमला दाहाल (सेलेक्टेड टुर्स एन्ड ट्राभल) रहेका छन्।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा प्रदीप आचार्य (ड्यूक नेपाल एडभेन्चर), सुदर्शन गजुरेल (पर्ल होलिडेज), दिनेश घिमिरे (शिवालय होलिडेज), त्रिलोचन न्यौपाने (इन्टेल रोशी टुर्स एन्ड ट्राभल), अनु राउत अधिकारी (नेपाल स्नो ज्वेल ट्राभल एन्ड टुरिजम) र रोजिना रञ्जितकार (रेनबो ट्राभल्स एन्ड टुर्स)ले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी घोषणासँगै तुलाधर नेतृत्वको प्यानलले पर्यटन व्यवसायको प्रवर्द्धन, डिजिटल युगको पर्यटन , व्यवसायिक सुरक्षाको प्रत्याभूति, संस्थागत सुदृढीकरण तथा सदस्यहरूको हकहित संरक्षणमा केन्द्रित १२ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ।