सुनसरीमा ४१८ किलो गाँजासहित चार जना पक्राउ

  • मिति : साउन २३, २०८३
463 Shares

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान करिब ५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित गुप्त बराह–चतरा भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा २२ वटा प्लास्टिकका पोकामा लुकाइराखेको ४१८ किलो गाँजा फेला परेको हो।

पक्राउ पर्नेहरू निम्न छन्

  • थमन राई (३४ वर्ष) – धरान उप-महानगरपालिका-१३, सुनसरी (कार चालक)
  • जीवनी राई (२२ वर्ष) – मानेभन्ज्याङ गाउँपालिका-५, ओखलढुङ्गा (कारमा सवार)
  • अमर कामत (२६ वर्ष) – कटहरी गाउँपालिका-३, मोरङ (मोटरसाइकल चालक)
  •  शंकर चौधरी (३८ वर्ष) – कटहरी गाउँपालिका-३, मोरङ (मोटरसाइकलमा पछाडि सवार)

पक्राउ परेका व्यक्तिहरू, गाँजा र दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए ।