संखुवासभा : संखुवासभाकाे मकालु गाउँपालिका -५ पाकपाेकमा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । मकालु गाउँपालिका -५ पाकपाेकमा सिमली खोला तर्ने क्रममा खोलाले बगाएर इदुवा हाइड्रोपावरका कर्मचारी बेपत्ता भएका हुन् ।
गएराति मकालु -५ मा रहेकाे सिमली खाेला तर्ने क्रममा खाँदबारी नगरपालिका -१० का इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
खाएर साथीहरूसँगै हाइड्रोको आवासमा फर्कने क्रममा बुधबार राति ११ बजे सुपरभाइजर निराैलालाई खोलाले बगाएर बेपत्ता भएका हुन् । हाइड्रोपावरमा कार्यरत कर्मचारी रुकुम पश्चिम आठबिकाेट नगरपालिका – १० का दिनेश विश्वकर्मा र इलाम जिल्लाकाे इलाम नगरपालिका -१ का राजेन्द्र लिम्बू सहित खाना खाएर बास बस्ने ठाउँ तर्फ जादै गरेका निराैलालाई खाेलाले बगाएकाे थियो ।
बेपत्ता भएका निराैलाकाे प्रहरी र स्थानीयकाे सहयोग खाेजी कार्य भइरहेकाे छ । घटना स्थल नुम प्रहरी चाैकीबाट २० किलाेमिटर पूर्वमा पर्दछ । घटना स्थलमा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र यादवको टाेली घटना स्थल सिमली खाेला तर्फ लागेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।