विश्व बजारपछि अब नेपालमा निसान ‘टेकटन’को डेब्यु, नाइमा मोबिलिटी एक्स्पोमा पहिलो प्रदर्शन

  • मिति : साउन १८, २०८३
616 Shares

काठमाडौं । निसानले आफ्नो नयाँ पुस्ताको प्रिमियम एसयूभी ‘टेकटन’ नेपाली बजारमा भित्र्याउने भएको छ। नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा टेकटनलाई पहिलोपटक सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

साउन २७ देखि भदौ १ गते (अगस्ट ११–१६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा टेकटन मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने कम्पनीको भनाइ छ। विश्व बजारमा गत जुलाई ९ मा सार्वजनिक भएको यो मोडल छोटो समयमै नेपाली ग्राहकमाझ ल्याउन लागिएको हो।

कम्पनीका अनुसार टेकटन निसानको सात दशकभन्दा बढीको एसयूभी निर्माण अनुभवलाई आधुनिक डिजाइन, नवीन प्रविधि र उच्च कार्यसम्पादनसँग संयोजन गरेर तयार गरिएको प्रिमियम स्पोर्ट्स युटिलिटी भेहिकल हो।

यो एसयूभी दुई इन्जिन विकल्पमा उपलब्ध हुनेछ। पहिलो, १.० लिटर टर्बो पेट्रोल इन्जिनसँग ६-स्पिड म्यानुअल ट्रान्समिसन र दोस्रो, १.३ लिटर टर्बो जीडीआई इन्जिनसँग ६-स्पिड डुअल–क्लच ट्रान्समिसन (डीसीटी) रहनेछ। शक्तिशाली इन्जिनले अधिकतम १६३ पीएस शक्ति र २८० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

प्रविधिको हिसाबले टेकटनमा टेक–लिङ्क एचडी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, क्रुज कन्ट्रोल, रियर–भ्यु क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक (डीसीटी भेरियन्ट) तथा प्रिमियम इन्टेरियर जस्ता सुविधा उपलब्ध छन्।

सुरक्षालाई प्राथमिकतामा राख्दै गाडीमा ६ वटा एयरब्याग, उच्च–शक्तियुक्त स्टिल संरचना, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ तथा ३६० डिग्री क्यामेरा जस्ता आधुनिक चालक–सहायता प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ।

बाह्य डिजाइनका हिसाबले टेकटन निसानको प्रतिष्ठित एसयूभी पेट्रोलबाट प्रेरित रहेको बताइएको छ। सी–आकारका एलईडी हेडल्याम्प, बलियो बडी डिजाइन र फराकिलो केबिनका कारण यो सहरभित्रको दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म सहज हुने कम्पनीको दाबी छ।

एक्स्पो अवधिभर आगन्तुकहरूले टेकटनलाई प्रत्यक्ष अवलोकन गर्न, यसको प्रविधि तथा विशेषताबारे जानकारी लिनुका साथै निसानका प्राविधिक प्रतिनिधिसँग अन्तरक्रिया गर्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ।