हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए

  • मिति : साउन ६, २०८३
514 Shares

जेद्दाह : यमनका इरान समर्थित हुथी विद्रोही समूहले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेपछि साउदी कच्चा तेल बोकेर एसियातर्फ गइरहेका दुई तेल ट्याङ्कर लाल सागरमै आफ्नो मार्ग परिवर्तन गर्न बाध्य भएका छन् । यससँगै अमेरिका–इरान युद्धले मध्यपूर्वका दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय जलर्मामा असर पार्दै विश्व ऊर्जा आपूर्तिमा नयाँ सङ्कट निम्त्याउने सङ्केत देखिएको छ । समुद्री सुरक्षा जोखिम बढेपछि चीन र भारतका लागि साउदीको यान्बु बन्दरगाहबाट तेल बोकेर हिँडेका दुई ट्याङ्कर बाब अल–मन्दब हुँदै हिन्द महासागर प्रवेश नगरी स्वेज नहरतर्फ फर्किएका हुन् ।

यमनको उत्तर तथा पश्चिमी तटीय क्षेत्र नियन्त्रणमा राखेको हुथी समूहले सोमबार साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्दै साउदी तेल लोड वा अनलोड गर्ने कुनै पनि जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो । यस घोषणाले अमेरिका–इरान युद्धमा नयाँ मोर्चा खुल्ने सम्भावना बढाएको विश्लेषण गरिएको छ ।

उता, अमेरिकी सेनाले लगातार ११औँ रात पनि इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ । इरानको अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार राजधानी तेहरानमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको थियो । चाबहार, कोनारक तथा बुशेहरमा पनि विस्फोट भएका छन् ।

बुशेहरमा इरानको एक मात्र आणविक ऊर्जा केन्द्र अवस्थित छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार हालसम्म इरानका सैन्य कमान्ड केन्द्र, मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल, समुद्री सैन्य संरचना र हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरिएको छ । यसअघि इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो। इरानले बहराइनमा रहेको अमेजनको क्षेत्रीय डाटा सेन्टरसँग सम्बन्धित पूर्वाधारमा पनि आक्रमण गरेको दाबी गरेको छ ।

यद्यपि, यस दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन । कुवेतले ड्रोन र मिसाइल आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली परिचालन गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले बाब अल–मन्दब जलडमरूमध्य पूर्ण रूपमा बन्द गरे अमेरिकाले त्यसविरुद्ध प्रत्यक्ष कारबाही गर्ने चेतावनी दिएका छन् । उनले हालसम्म उक्त जलमार्ग पूर्ण रूपमा बन्द नभएको उल्लेख गर्दै त्यसो भए अमेरिकाले आवश्यक कदम चाल्ने बताएका छन् । ट्रम्पले हालसम्मको युद्धमा १८ अमेरिकी सैनिक मारिएको पनि पुष्टि गरेका छन् । तीमध्ये चार जनाको मृत्यु पछिल्ला केही दिनमा जोर्डन र इराकस्थित अमेरिकी सैन्य अड्डामाथि भएको इरानी आक्रमणमा भएको उनले बताए ।

स्ट्रेट अफ होर्मुजमा जोखिम बढेपछि रातो सागर साउदी तेल निर्यातको प्रमुख वैकल्पिक मार्ग बनेको थियो । तर हुथीहरूले बाब अल–मन्दबमा पनि खतरा सिर्जना गरेपछि विश्व तेल आपूर्ति थप प्रभावित हुने चिन्ता बढेको छ । यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा पनि देखिएको छ । बुधबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ २ प्रतिशतभन्दा बढी बढेर प्रति ब्यारेल ९१ अमेरिकी डलरमाथि पुगेको छ । बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार स्ट्रेट अफ होर्मुजमा एक तेल ट्याङ्कर क्षेप्यास्त्रबाट प्रभावित भएको छ ।

आक्रमणपछि चालक दलले जहाज छाडेर लाइफबोटमा शरण लिनुपरेको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले पनि होर्मुजको दक्षिणी जलमार्ग हुँदै यात्रा गरिरहेका दुई तेल ट्याङ्कर विस्फोटपछि आगलागीमा परेको दाबी गरेको छ । इरानले जहाजहरूलाई आफ्नो तटीय उत्तरी मार्ग प्रयोग गर्न दबाब दिँदै आएको छ । भविष्यमा सो मार्ग प्रयोग गरेबापत शुल्क उठाउने योजना पनि इरानले अघि सारेको छ ।