काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथग्रहण कार्यक्रममा तीन केन्द्रीय सदस्यको शपथ रोकिएको छ। निर्वाचन परिणामसम्बन्धी विवाद अझै समाधान नभएकाले सम्बन्धित पदाधिकारीहरूको शपथ तत्कालका लागि स्थगित गरिएको हो।
गण्डकी प्रदेश र जनजाति क्लस्टरको मतपरिणाम संशोधन भएपछि आफूहरू अन्यायमा परेको दाबी गर्दै उम्मेदवार सोम शर्मा र कृष्णमान श्रेष्ठले पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका छन्। उक्त उजुरीमाथि अन्तिम निर्णय नभएसम्म विवादसँग सम्बन्धित सदस्यहरूको शपथ नगराउने सहमति भएको जनाइएको छ।
यस निर्णयसँगै गण्डकी प्रदेशबाट पूजा बास्तोला र विष्णुकुमारी गुरुङ तथा जनजाति क्लस्टरतर्फ ध्रुव थापामगरको पनि शपथ हुन सकेन। विवादित दुवै क्लस्टरसँग सम्बन्धित पाँचै जना अहिलेका लागि केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहने भएका छन्। रास्वपाले निर्वाचनसम्बन्धी उजुरीको छानबिनपछि मात्रै सम्बन्धित सदस्यहरूको विषयमा अन्तिम निर्णय लिने जनाएको छ।