तत्काल कम्युनिष्ट मिल्ने सम्भावना छैन, कुराले चिउरा भिज्नेवाला छैन : माधव नेपाल

  • मिति : असार १४, २०८३
242 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालले तत्कालका लागि कम्युनिष्ट एकता सम्भव नरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल एकता सम्भव नरहेको र एकताका लागि विगतको विसङ्गतिको आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले विगतको विसङ्गतिको आत्मसमीक्षा गर्नुपर्छ । यो एउटा पार्टीको निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आ-आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ । त्यो आत्ममन्थन गरेर सही निष्कर्षमा पुग्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ । नभए भावनाको कुरा गरेर मात्र हुँदैन’ उनले थपे, ‘कमरेड मदन भण्डारी भन्नुहुन्थ्यो कुराले चिउरा भिज्नेवाला छैन ।

त्यसकारण कुरा मात्रै गरेर हुनेवाला केही पनि छैन । त्यस हुनाले चिउरा भिजाउनका लागि कि त दही नै चाहिन्छ कि त दूध नै चाहिन्छ । त्यसो हुनाले पनि अहिलेको यथार्थताको धरातलमा टेकेर र सही ठाउँमा पुगेर व्यापक छलफल बहसहरू चलाएर हामीले अहिले मिल्न सकिने कुराहरूमा मिलेर अगाडि बढ्नुपर्छ ।’