अमेरिका–इरान युद्ध अन्त्य गर्न सहमत, १९ जुनमा हस्ताक्षर

  • मिति : असार १, २०८३
650 Shares

काठमाडौं । मध्यपूर्वमा लामो समयदेखि जारी तनाव अन्त्य गर्न अमेरिका र इरान युद्धविराम सम्झौतामा पुगेको छ ।

युद्ध अन्त्यका लागि मुख्य मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले एक्स (ट्वीटर)मा ट्वीट गर्दै अमेरिका र इरानबीचको शान्ति सम्झौतामा अन्तिम सहमति भएको बताएका हुन् । यस सम्झौताअन्तर्गत दुवै देशले तुरुन्तै स्थायी रूपमा सैन्य कारबाही बन्द गर्ने निर्णय गरेका छन् । यसमा लेबनानमा जारी सैन्य गतिविधिहरू पनि समावेश छ ।

प्रधानमन्त्री शाहबाजले यस ऐतिहासिक सम्झौताको औपचारिक हस्ताक्षर समारोह जुन १९ मा स्विट्जरल्याण्डमा आयोजना हुने बताए ।

यसैगरी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानसँगको सम्झौताको तयारी पूरा भएको बताए । साथै, ट्रम्पले यस सम्झौतासँगै होर्मुजको जलडमरूम फेरि खोलिने बताए । उनले इरानी बन्दरगाहहरूमा अमेरिकी नौसेना नाकाबन्दी तुरुन्तै हटाउन निर्देशन पनि दिए ।

यसैबीच, इरानले एक विज्ञप्ति जारी गर्दै अमेरिकासँग धेरै महिनाको लामो र कठिन वार्तापछि दुवै देशले सम्झौतालाई अन्तिम रूप दिएको बताएको छ ।