उदयपुर । विवादपछि रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया आज सुरु हुने भएको छ । यसअघि आइतबार निर्वाचन समितिले सम्पूर्ण निर्वाचन कार्यतालिका रद्द गरेको थियो
प्रतिनिधि छनोटको वैधानिकतामाथि प्रश्न उठेपछि आइतबार सुरु भएको निर्वाचन प्रक्रिया स्थगित गर्दै पुनः उम्मेदवारी मनोनयन गरिने निर्णय गरिएको हो ।
शनिबार नै रास्वपा उदयपुरको नयाँ जिल्ला सभापति चयनका लागि आ–आफ्नो प्यानलसहित चित्रकुमार कार्की र जनक बस्नेतले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
आइतबार उद्घाटन सत्र सम्पन्न गरी बन्दसत्रमार्फत निर्वाचन प्रक्रियामा प्रवेश गर्ने तयारी भइरहेका बेला प्रतिनिधि चयन प्रक्रियामै विवाद चर्किएपछि अधिवेशनको माहोल एकाएक तनावग्रस्त बनेको थियो ।
निर्वाचन समितिका संयोजक नारायण घिमिरेका अनुसार प्रतिनिधिको वैधतासम्बन्धी विषयमा गम्भीर प्रश्न उठेपछि छलफल लम्बिएको र त्यसकै कारण आइतबारका सम्पूर्ण निर्वाचन कार्यक्रम रद्द गरिएको थियो ।
उनले रास्वपा जिल्ला अधिवेशन कार्यविधि २०८३ तथा केन्द्रीय निर्वाचन आयोगको २३ जेठ २०८३ को पत्रअनुसार १५ वैशाख २०८३ भन्दा अघि नियुक्त भएका आधिकारिक प्रतिनिधि सदस्यले मात्र उम्मेदवार बन्न तथा मतदान गर्न पाउने व्यवस्था रहेको जानकारी दिए ।
उनका अनुसार अब आज दिउँसो १ बजेदेखि पुनः निर्वाचन प्रक्रिया सुरु गरिनेछ भने नयाँ कार्यतालिकाअनुसार पुनः उम्मेदवारी मनोनयन दर्ता गराइनेछ ।
आइतबार अधिवेशनस्थलमा विवाद चर्किएपछि उपस्थित प्रतिनिधिहरूले नाराबाजी समेत गरेका थिए ।
‘दलाल माननीय मुर्दावाद’, ‘पार्टी हस्तक्षेप बन्द गर’, ‘हाम्रो पैसा फिर्ता गर’जस्ता नाराबाजीले केही समय अधिवेशनस्थल तनावपूर्ण बनेको थियो ।
प्रतिनिधिहरूले नेतृत्व चयन प्रक्रियामा बाह्य हस्तक्षेप भएको आरोप लगाउँदै निष्पक्ष निर्वाचनको माग गरेका थिए ।
भव्य उद्घाटनसँगै सुरु भएको रास्वपा उदयपुरको पहिलो जिल्ला अधिवेशन विवाद र असन्तुष्टिबीच स्थगित भएपछि अब आज (सोमबार) हुने भनिएको निर्वाचन प्रक्रियाले कस्तो मोड लिन्छ भन्ने विषय जिल्लाभर चासोको केन्द्र बनेको छ ।