चितवनमा मह उत्पादनमा कमी

  • मिति : जेष्ठ ७, २०८३
582 Shares

चितवन । चितवनमा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो ।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो । जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ । यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो ।

उनले भने, ‘बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ ।’ तोरीमा एकपटकमा तीनचोटिसम्म मह काट्ने किसानले यसपटक बढीमा दुईपटक मह काटेको उनले बताए ।

यस्तै, चिउरीमा पाँचपटकसम्म मह काटिन्थ्यो भने यसपटक तीनपटक मात्र काटेका छन् । अहिले घारको सङ्ख्या बढे पनि उत्पादनमा कमी आएको उनले जानकारी दिए ।

गत वर्षमा मौरीपालक किसानमध्ये ७० प्रतिशतले छ पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले ३० प्रतिशत किसानले मात्र छपटक मह निकालेका छन् । जिल्लामा ४५० जना व्यावसायिक मौरीपालक किसान रहेका छन् । जिल्लामा विशेष गरी चिउरी र तोरीको मह ८० प्रतिशत उत्पादन हुँदै आएको छ । बीस प्रतिशत मह रुदिलो, फापर, पड्के, लिचीलगायतबाट उत्पादन हुने गरेको उनले जानकारी दिए ।