भारतमा महँगियो पेट्रोल र डिजेल मूल्य

  • मिति : जेष्ठ १, २०८३
1.8K Shares

काठमाडौं । भारतमा शुक्रबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३/३ भारतीय रुपैयाँ (भारु)ले बढेको छ ।

योसँगै अब राजधानी दिल्लीमा एक लिटर पेट्रोलको नयाँ मूल्य ९७.७७ भारु पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि दिल्लीमा एक लिटर पेट्रोलको मूल्य ९४.७७ भारु थियो । डिजेलको प्रतिलिटर मूल्य ८७.६७ बढेर ९०.६७ भारु पुगेको छ ।

त्यस्तै, कोलकातामा पेट्रोलको मूल्य प्रतिलिटर ३.२९ रुपैयाँले बढेर १०८.७४ भारु पुगेको छ । मुम्बईमा पेट्रोलको मूल्य ३.१४ रुपैयाँले बढेर १०६.६८ भारु पुगेको छ ।

दक्षिण भारतको ठूलो शहर चेन्नईमा पेट्रोलको मूल्य प्रतिलिटर २.८३ भारुले वृद्धि भएर प्रतिलिटर १०३.६७ भारु पुगेको छ ।

पेट्रोलियम पदार्थमा वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यमा आएको उतारचढाव हो । अमेरिका–इरान युद्ध अघि ७० डलर रहेको कच्चा तेलको मूल्य अहिले प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।