काठमाडौँ : सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले जातीय विभेदका घटना न्यूनीकरण र रुग्ण उद्योग सञ्चालनमा ध्यान दिन पनि सरकारसँग आग्रह गरेका छन् ।
सांसद कमला पन्तले मुलुकको गौरवका रुपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी सम्बन्धमा सरकारको जवाफ माग गरीन् । सांसद जयन्ती राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुमवासीको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद दुर्गा गुरुङले दीर्घकालीन रुपमा सुकुमवासी समस्या समाधान गर्न सरकारसँग आग्रह गरीन् । सांसद नरबहादुर विष्टले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद नारायणदत्त मिश्रले नागरिक अधिकार र लोकतन्त्रको रक्षामा सरकारको प्रतिबद्धता माग गरे । सांसद भुवनबहादुर सुनारले जातीय विभेदका घटना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे ।
सांसद मदनकुमारी शाह (गरिमा)ले कसैले पनि संसद्को अवमूल्यन गर्न नहुने बताइन् । सांसद युवराज शर्माले सुशासन, मूल्यवृद्धि नियन्त्रण, विकास निर्माणलगायत विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य क्षेत्रमा संवेदनशील हुन् सरकारलाई सुझाव दिइन् । सांसद सोनाम गेल्जेन शेर्पाले सिंहदरबारभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्न माग गरे ।