सुर्खेतमा अनलाइन जुवा र बैङ्किङ ठगीमा संलग्न शिक्षकसहित ३ जना पक्राउ

  • मिति : बैशाख ३०, २०८३
1K Shares

सुर्खेत । सुर्खेत प्रहरीले विद्युतीय माध्यमबाट अनलाइन जुवा (सट्टेबाजी) खेलाएको र बैङ्क खाताको दुरुपयोग गरी ठगी गरेको आरोपमा एक शिक्षकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पक्राउ पञ्चपुरी नगरपालिका–९ का ३९ वर्षीय शिक्षक महेन्द्रकुमार बोहरा, ४२ वर्षीय व्यवसायी यामलाल विक र ४४ वर्षीय होटल व्यवसायी डम्बर विक रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले गोप्य सूचनामा आधारमा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

उनका अनुसार उनीहरूले करोडौँको शङ्कास्पद कारोबार गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । ‘पक्राउ परेकामध्ये शिक्षक महेन्द्रकुमार बोहराले विभिन्न बैंकमा ६ वटा खाता खोली करिब २ करोड ४६ लाख रुपैयाँ बराबरको शङ्कास्पद कारोबार गरेको पाइएको छ,’ उनले भने, ‘अर्का आरोपी यामलालले विभिन्न बैंकमा ५ वटा खाता र होटल व्यवसायी डम्बरले ९ वटा बैङ्क खाता खोली ठगी र अनलाइन सट्टेबाजीका लागि प्रयोग गरेको देखिएको छ ।’

उनीहरूले सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट सर्वसाधारणलाई प्रलोभनमा पारी अनलाइन जुवा खेलाउँदै आएका थिए । साथै, अवैध रूपमा खाता सञ्चालन गरी रकम सङ्कलन गर्ने गरेको बुढ्थापाले बताए । पक्राउ परेका तीनै जनामाथि बैङ्किङ कसुर, जुवा (सट्टेबाजी) तथा सम्पत्ति शुद्धीकरण लगायतका शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको थापा बताउँछन् ।

सुर्खेत प्रहरीले अनलाइन ठगी र जुवा सट्टेबाजी जस्ता कार्य गम्भीर अपराध भएको भन्दै आफ्नो व्यक्तिगत बैङ्क खाता, पिन कोड, ओटीपी जस्ता गोप्य विवरण कसैलाई शेयर नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।