महिलाका लागि अफगानिस्तान सबैभन्दा असुरक्षित देश, नेपाल कति स्थानमा छ ?

  • मिति : बैशाख २८, २०८३
633 Shares

काठमाडौं । विश्वमा महिला सुरक्षाको दृष्टिकोणले अफगानिस्तान सबैभन्दा असुरक्षित देश रहेको पाइएको छ ।

‘वर्ल्ड पपुलेसन रिभ्यू’को रिपोर्टअनुसार सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तान महिलाका लागि संसारकै सबैभन्दा असुरक्षित देश बनेको ‘पिस सेक्युरिटी इन्डेक्स’ सम्बन्धी हालैको तथ्यांकले देखाएको हो ।

महिलाहरूका लागि सबैभन्दा खतरनाक देशहरूको सन् २०२६ को सूचीमा यमन दोस्रो स्थानमा छ ।

रिपोर्टमा युद्ध, राजनीतिक अस्थिरता तथा कट्टरपन्थी सामाजिक मान्यताका कारण धेरै देशहरूमा महिलाको जीवन अत्यधिक जोखिमपूर्ण बनेको उल्लेख छ । महिला सुरक्षा सूचकांकमा अफगानिस्तान ०.२७९ स्कोरसहित सबैभन्दा तल रहेको छ ।

अफगानिस्तानमा सार्वजनिक जीवनमा महिलाको सहभागिता लगभग शून्य बराबर रहेको तथा उनीहरूमाथि कडा सामाजिक प्रतिबन्ध लगाइएको बताइएको छ । शिक्षा र रोजगारीजस्ता आधारभूत अधिकारहरू पनि स्थानीय नीतिमा निर्भर रहेका कारण महिलाको स्वायत्तता लगभग समाप्त भएको उल्लेख छ ।

सूचीमा दोस्रो स्थानमा यमन (०.३२३) रहेको छ, जहाँ लामो समयदेखि जारी गृहयुद्धले स्वास्थ्य सेवा र पूर्वाधार ध्वस्त पारेको छ । त्यसपछि सेन्ट्रल अफ्रिकन रिपब्लिक (०.३६२) र सिरिया (०.३६४) रहेका छन् ।

सिरियामा वर्षौंदेखि जारी द्वन्द्वले महिलाहरूलाई विस्थापन तथा मनोवैज्ञानिक तनावतर्फ धकेलेको बताइएको छ । त्यसपछि कंगो लोकतान्त्रिक गणतन्त्र (०.३८४) छ ।

विज्ञहरूका अनुसार यो र्‍याकिङ तथ्यांक मात्र नभई ती लाखौँ महिलाहरूको वास्तविक संघर्षको चित्रण हो, जो हरेक दिन डर, विस्थापन र असुरक्षाबीच जीवन बिताइरहेका छन् ।

सुडान (०.३९७) र दक्षिण सुडान (०.४११) जस्ता देशमा पनि राजनीतिक अस्थिरता तथा आर्थिक संकटले महिलाहरूको जीवनलाई चुनौतीपूर्ण बनाएको छ ।

महिलाका लागि सबैभन्दा खतरनाक मानिने देशहरूको सूचीमा प्रायः द्वन्द्वग्रस्त क्षेत्र, कमजोर राज्य तथा सुरक्षा प्रणाली फितलो वा प्रभावहीन रहेका राष्ट्रहरू पर्ने गरेका छन् ।

अफगानिस्तान, यमन, सिरिया तथा धेरै अफ्रिकी देशहरू बारम्बार ‘महिला सुरक्षा सूचकांक’मा सबैभन्दा खराब अंक प्राप्त गर्ने देशहरूको सूचीमा पर्ने गरेका छन् ।

रिपोर्टअनुसार नेपालको अवस्था यी युद्धग्रस्त देशहरूको तुलनामा धेरै राम्रो रहेको छ । सूचीमा नेपाल १२०औँ स्थानमा छ ।

तर, चुनौतीहरू अझै कायम छन् । सन् २०२३ को तुलनामा नेपालको स्थान खस्किएको छ । नेपालको स्कोर ०.६४४ बाट घटेर ०.६३१ पुगेको बताइएको छ ।