रौतहट : रौतहटको सदरमुकाम गौरमा नक्कली पेस्तोल (खेलौना) देखाएर सर्वसाधारणलाई त्रसित बनाउँदै लुटपाटको प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, वैशाख २३ गते राती करिब ९ः३० बजे गौर नगरपालिका वडा नं. ५ स्थित बि.पि. चोकमा सडकमा हिँड्डुल गरिरहेका व्यक्तिहरूलाई पेस्तोल देखाई पैसा लुट्न खोज्ने परोहा नगरपालिका वडा नं. ४ निवासी २० वर्षीय शेख जवेरलाई पक्राउ गरिएको हो।
मादक पदार्थ सेवन गरेका निज जवेरले हातमा बोकेको वस्तु वास्तविक पेस्तोल नभई खेलौना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले सोही खेलौना पेस्तोल देखाई बाटो हिँड्ने मानिसहरूलाई डर र त्रास देखाइरहेको सूचना पाएलगत्तै प्रहरी टोली खटिएर उनलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका जवेरमाथि थप अनुसन्धान कार्य भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले यस्ता उच्छृङ्खल क्रियाकलाप गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएको छ।