पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

  • मिति : बैशाख ४, २०८३
1K Shares

काठमाडौँ। नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैठकले मध्यपूर्वमा देखिएको संकटका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको उल्लेख गरिएको छ । पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा भान्सादेखि व्यवसाय, रोजगारी, कृषि उत्पादन र पर्यटन क्षेत्रसम्म व्यापक प्रभाव परेको कांग्रेसको ठहर छ ।

कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै स्वतः बढेको मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिई फिर्ता गर्ने व्यवस्था गर्न माग गरेको छ । यसले महँगीको मार केही हदसम्म कम गर्नसक्ने विश्वास व्यक्त गरेको छ । साथै, पूर्वाधार विकास कर हालको सन्दर्भमा औचित्यहीन भइसकेकाले हटाउनुपर्ने कांग्रेसको धारणा छ ।