काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF-Nepal) को २७औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्दै नयाँ कार्यसमिति चयन गरेको छ, जसले ग्रामीण पर्यटन प्रवर्द्धनलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा हरिशरण थपलिया चयन भएका छन् भने प्रथम उपाध्यक्षमा मनहरी दाहाल र द्वितीय उपाध्यक्षमा विनोद वस्ती चयन भएका छन्। त्यसैगरी, महासचिवमा अजिव भट्ट, सचिवमा सुरेन्द्र भट्ट तथा कोषाध्यक्षमा इन्दिरा रिमाल न्यौपाने चयन भएका छन्। सह–कोषाध्यक्षमा नारायण सोडारी चयन हुँदा सदस्यहरूमा प्रदीपकुमार तामाङ, सुनिता पौडेल दवाडी, विनोद ढकाल र सुनिता अधिकारी न्यौपाने रहेका छन्।
अधिवेशनका क्रममा ग्रामीण पर्यटनको विकास, स्थानीय समुदायको आर्थिक सशक्तीकरण तथा नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले गाउँ पर्यटनको सम्भावनालाई थप उजागर गर्दै दिगो र व्यवस्थित विकासका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा गाउँ पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय संस्कृति संरक्षणमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।