काठमाडौं । मध्यपूर्वमा जारी युद्धकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामको अपिल गरेको दाबी गरेका छन् । इरानले होर्मुजको जलडमरूम पूर्ण रूपमा खोलेपछि मात्र यसबारे विचार गरिने ट्रम्पको भनाइ छ ।
‘इरानको नयाँ शासनका राष्ट्रपति, जुन पहिलेका शासनहरू भन्दा धेरै कम कट्टरपन्थी र धेरै बुद्धिमान छन्, उनले भर्खरै संयुक्त राज्य अमेरिकालाई युद्धविरामको लागि अपिल गरेका छन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन् । तर ट्रम्पले इरानका नयाँ शासनको राष्ट्रपति भनेर कसलाई संकेत गरेका थिए भन्ने कुरा भने स्पष्ट पारेका छैनन् ।
ट्रम्पले भनेका छन्, ‘हामी हर्मुजको जलडमरूम पूर्ण रूपमा खुला, स्वतन्त्र र सुरक्षित भएपछि मात्र यसमा विचार गर्नेछौँ । त्यतिन्जेलसम्म हामी इरानलाई नष्ट गर्न जारी राख्नेछौँ ।’ यसैबीच, इरानले ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ ।
अल जजीराका अनुसार, इरानी रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले ट्रम्पको दाबीको जवाफमा भनेको छ, ‘अमेरिकी राष्ट्रपतिको बेतुका बयान र कार्यहरूले होर्मुजको जलडमरूम खोल्ने छैन ।’
आईआरजीसीका अनुसार होर्मुजको जलडमरूम पूर्ण रुपमा इरानको नियन्त्रणमा छ । ‘होर्मुजको जलडमरूमको अवस्था पूर्ण रूपमा आफ्नो नियन्त्रणमा छ र अमेरिकी राष्ट्रपतिको बेतुका प्रदर्शनका कारण यो देशका शत्रुहरूका लागि खुला गरिने छैन ।’ आईआरजीसीले भनेको छ ।