नेशनल प्याब्सन काठमाडौद्वारा भदौ ८ मा राष्ट्रिय लोक नृत्य प्रतियोगिता आयोजना

  • मिति : भदौ ५, २०८२
1.4K Shares

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा हुने राष्ट्रिय स्तरको “लोक नृत्य तथा गीत प्रतियोगिता २०८२” भदौ ८ गते नेपाल प्रज्ञा भवन, कमलादीमा  हुने भएको छ ।

प्रतियोगितामा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहनेछ । विद्यालयहरुले रु. ५,००० प्रवेश शुल्क तिरेर आवेदन दिनुपर्ने र हालसम्म ५१ विद्यालयले नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाली लोकगीत, लोकनृत्य, सांगीतिक प्रस्तुति, संस्कृतिसम्बन्धी समूहगत प्रस्तुति लगायत विभिन्न विधा रहनेछन् । प्रस्तुतिलाई निर्णायक मण्डलले मौलिकता, प्रस्तुति, लय, ताल, सुर, अभिव्यक्ति र सांगीतिक स्तरका आधारमा मूल्याङ्कन गर्नेछ ।

विजेतालाई आकर्षक नगद पुरस्कारसहित सम्मान गरिनेछ । प्रथम हुने विद्यालयलाई रु. २५ हजार, द्वितीयलाई रु. २० हजार र तृतीयलाई रु. १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट प्रस्तुतिलाई विशेष सम्मान पनि गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा काठमाडौं महानगरपालिका समिती , कोटेश्वर नगर समिती,  टोखा नगर समिती ,  कागेश्वरी नगर समिती , चन्द्रागिरी नगर समिती , तारकेश्वर नगर समिती ,  नगरकोट नगर समिती  लगायतका समितीहरुको प्रत्यक्ष  सहयोग रहेको जनाएको  छ ।