उदयपुरमा निल गाईको हत्या, गोली हान्ने व्यक्तिको खोजी जारी

3.1K Shares

उदयपुर : त्रियुगा नगरपालिका- ५ श्रीपुरस्थित जङ्गलमा घाईते अवस्थामा फेला परेको लोपोन्मुख वन्यजन्तु निल गाईको बाछी उपचारको क्रममा मरेको छ । सोमबार मध्यान्ह श्रीपुरको आँपगाछीस्थित विष्णु रायाको करेसा बारीमा घाईते अवस्थामा निल गाई भेटिएको थियो ।छटपटिरहेको अवस्थामा भेटिएको निल गाई उपचारका लागि उद्धार गर्न खोज्दाखोज्दै मरेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक बान्तवाले बताए । बान्तवाका अनुसार गोली लागेर घाईते निल गाईको बाछी छटपटिरहेको अवस्थामा स्थानीयले देखेर सवडिभिजन वन कार्यालय देउरीलाई जानकारी गराएका थिए । सवडिभिजनको कर्मचारी टोली घट्नास्थल आईपुग्ने बित्तिकै निल गाई मरेको बान्तवाले बताए ।

उपचार गर्न नभ्याई मरेको निल गाईको त्रियुगा नगरपालिका ५ का वडाध्यक्ष उद्धव थापाको रोहवरमा डिभिजनन कर्मचारीले सर्जमिन मुचुल्का गरी स्थानीय जङ्गलमा गाडेको बान्तवाले बताए । सवडिभिजन कार्यालयले निल गाईलाई गोली हान्ने व्यक्तिको खोजी गरिरहेको छ । सरस्वती सामुदायिक वन समूहमा निल गाई केहीवर्षयता देखा पर्न थालेका हुन् । चुरे जङ्गलसँग जोडिएको उक्त वन क्षेत्रमा लोपोन्मुख निल गाई देखिन थालेपछि सुरक्षाका लागि केही वर्षयता चरिचरण र घाँस दाउरा गर्न बन्द गरिएको छ । समूहका अध्यक्ष बान्तवाले निल गाई र मयुर आउन थालेपछि उनीहरुको सुरक्षाकै लागि भनेर चरिचरण बन्द गरिएको बताए । श्रीपुर बस्तीसँग जोडिएको वनक्षेत्रलाई ‘मयुर वन क्षेत्र’ घोषणा गर्दै चरिचरन र घाँस दाउरा गर्न रोक्नुका साथै पर्यटकीयस्थलको रुपमा विकसित गर्दै लगिएको उनले बताए । नागरिक