संघीय निजामती विधेयक संसद्को आगामी अधिवेशनबाट पारित हुन्छ : मन्त्री गुप्ता

4.7K Shares

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशाशनमन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयक छिट्टै पारित गर्ने बताएका छन् । मंगलबार आफ्नो सय दिनको कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले सो आश्वासन दिएका हुन् । मन्त्री गुप्ताले ऐनलाई छिट्टै पारित गर्नका लागि राजनीतिक दलका नेतृत्वसँग पुनः छलफललाई तीव्रता दिइएको र सकारात्मक सहयोग पनि पाइएको उल्लेख गर्दै सो विधेयक छिट्टै ल्याउने आश्वासन दिए । उनले सो विधेयक संसदका आगामी अधिवेशनमा पारित गर्ने तयारीमा आफू रहेको पनि बताए ।

मन्त्री गुप्ताले सो विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि दोहोर्‍याए । संसद्को आगामी अधिवेशनबाट पारित हुने बताए । उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि अर्थ मन्त्रालयमा राय लिने काम सकिएको र कानुन मन्त्रालयका स्वीकृति पाएपछि त्यसलाई पनि अघि बढाउने बताए । मन्त्री गुप्ताले कर्मचारी सरुवा मापदण्ड लागू गर्ने काममा पनि ढिलाइ नहुने बताए । उनले सो मापदण्डको मस्यौदा सुझावका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको र त्यसको आउने बित्तिकै लागूगर्ने काम सरकारले गर्ने बताए ।