काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले विपद् प्रभावित क्षेत्रमा यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले सिङ्गो देश, विश्वभरका नेपालीहरू, अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना भइरहेको बताए ।
उनले भने, ‘देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ । सिङ्गो देश, विश्वभरका नेपालीहरू, अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ ।’
प्रधानमन्त्री साहका अनुसार आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि उडान सुरु भएकोमा अहिलेसम्म १५ भन्दा बढी उडान सञ्चालन भइसकेका छन् । थप हेलिकोप्टरसमेत उद्धारका लागि तयारी अवस्थामा राखिएको उनले बताए ।
नेपाली सेनाले रसुवाको टिमुरेमा सञ्चालन गरेको उद्धार अभियानबाट ११६ जनालाई सकुशल उद्धार गरिएको उनले बताए । उनले उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका जानकारी दिए ।
उनले भने, ‘नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन् । यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ ।’
उनका अनुसार प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिनलगायत अत्यावश्यक सामग्री पठाउने काम भइरहेको छ । उनले चाँडै प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क र मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने बताए ।
नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको व्यवस्था गरिएको छ । साथै, ड्रोनमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्री साहले बताए ।
उद्धारका क्रममा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने जनाइएको छ । प्रधानमन्त्री साहले प्रभावित नागरिकलाई धैर्य र संयम राख्न आग्रह गर्दै राज्यको सम्पूर्ण संयन्त्र उद्धार तथा राहतमा परिचालित रहेको बताए ।