काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनको चुनावी परिणामलाई लिएर टिप्पणी गर्दै रास्वपा अझै संगठनात्मक रूपमा परिपक्व राजनीतिक दल बन्न बाँकी रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले रास्वपाले विगतमा उठाएको ‘नो भोट’को मुद्दा स्मरण गराउँदै महाधिवेशनको नतिजामाथि व्यंग्य गरेका हुन् ।
उनले लेखेका छन्, ‘हिजो ‘नो भोट’को चर्को वकालत गर्ने रास्वपाका साथीहरूले चितवन महाधिवेशनको चुनावी परिणाम हेर्नुभयो ? ‘नो भोट’को व्यवस्था हुन्थ्यो भने पदाधिकारीमा रवि र केन्द्रीय सदस्यमा जम्मा ९ जना मात्र चुनिने रहेछन् ।’
पोखरेलले उक्त परिणामले रास्वपा व्यक्तिकेन्द्रित दल भएको दाबी गर्दै रास्वपा भनेकै रवि भन्ने टिप्पणी गरेका छन् ।
‘यसले प्रमाणित गर्छ– रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा हुन् । रास्वपा संगठनात्मक रूपमा पार्टी बन्न त बाँकी नै रहेछ,’ उनले लेखेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनपछि सार्वजनिक भएको निर्वाचन परिणामलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।