कम मत आउनु असफलता होइन, लोकतान्त्रिक प्रक्रियालाई नबुझ्नेले सामाजिक सञ्जालमा ट्रोल गर्छन्: हिमेश पन्त

  • मिति : असार १३, २०८३
463 Shares

काठमाडौं : रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य हिमेश पन्तले कम मत आउनु असफलता नभएको बताएका छन्। चितवनमा भएको महाधिवेशनमा सहमहामन्त्री पदमा भिडेका पन्तले ५३ मत पाएका थिए। सहमहामन्त्रीमा असिम साहले ४७१ र हरि ढकालले ४१० मत ल्याएर विजयी हुँदा पन्तले कम मत पाएको भन्दै सामाजिक सञ्जालमा ट्रोल हुन थालेपछि उनले यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘केन्द्रीय सदस्य पदमा हजारौँ प्रतिनिधिको विश्वास जितेर निर्वाचित भएको मान्छेलाई सह-महामन्त्रीमा कम मत आयो भन्दै खिसी गर्नु भनेको लोकतान्त्रिक प्रक्रियालाई नबुझ्नु हो।’

एउटै महाधिवेशनमा फरक पदका लागि प्रतिनिधिले फरक मापदण्डमा मतदान गर्ने उनको भनाइ छ। ‘यही नै लोकतन्त्रको सुन्दरता हो। पदमा मत कम आउनु असफलता होइन, जनतासँगको सम्बन्ध र कामबाट कमाएको विश्वास नै सबैभन्दा ठुलो पूँजी हो’ उनले भनेका छन्, ‘आज अरूको मत गनेर हाँस्नेहरूलाई मेरो शुभकामना।’

आफू काम, योगदान र भविष्यका लागि प्रतिनिधिहरूले दिएको विश्वास गनेर अघि बढिरहेको बताए।पन्तले थपेका छन्, ‘राजनीतिमा अन्तिम फैसला सामाजिक सञ्जालको ट्रोलले होइन, समय, काम र जनताले गर्छन्। म लड्न सिकेको मान्छे हुँ, फेरि उठेर जित्ने साहस राख्छु।’