काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित हुने रुलिङ गर्न इन्कार गरेका छन् । विपक्षी दलहरूले सभामुखले रुलिङ गर्नुपर्ने माग राखिरहेका छन् ।
यस सन्दर्भमा सभामुख अर्यालले भनेका छन्, ‘मलाई थाहा छ माननीय सदस्यहरूले मेरो मुखबाट मिति घोषणा भइदियोस् भन्ने तपाईंहरूको ठूलो इच्छा छ ।’
विपक्षी दलहरूको यस्तो इच्छा नेचुरुल (प्राकृतिक) प्रक्रिया भएको भन्दै उनले प्रधानमन्त्री उपस्थित हुने विषय पनि नेचुरल नै रहेको बताए ।
रुलिङ गर्न इन्कार गर्दै सभामुख अर्यालले भने, ‘प्रधानमन्त्री आउने मिति तय हुने बित्तिकै म माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’
तर, विपक्षीले मानेनन् । त्यसपछि सभामुखले विपक्षीको अवरोधका बीच सभालाई अगाडि बढाए । सभामुखले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।
विरोधका बीच विधेयकमाथिको छलफल अगाडि बढ्यो । विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन् । विधेयकमाथि बोल्न गएका रास्वपा सांसद अशोक कुमार चाधरीले संसद्लाई विरोधको थलो बनाउन नहुने भनेर विपक्षीलाई कटाक्ष समेत गरेका छन् ।