काठमाडौं । हालसालै बजारमा आएको उपन्यास ‘लाफा’ ले पाठकहरूबीच निकै चर्चा कमाइरहेको छ । पुस्तक बजारमा आइएका केही सातामै यसले पाठकहरूको सकरात्मक प्रतिक्रिया मात्र होइन, उल्लेखनीय माग पनि सिर्जना गर्न सफल भएको छ।
परम्पराको नाममा भइरहेका कुअभ्यासहरूलाई प्रेमिल र संवेदनशील शैलीमा प्रस्तुत गरिएको यस उपन्यासलाई विशेषगरी युवापुस्ताले अत्यधिक रुचाएका छन्। पाठकहरूको भनाइअनुसार लेखकले समाजका गहिरा विषयहरूलाई नयाँ दृष्टिकोण र फरक लेखनशैलीमार्फत प्रस्तुत गरेका छन्, जसले पुस्तकलाई अझ आकर्षक बनाएको छ।
लेखकका अनुसार ‘लाफा’ मा युवाहरूको जीवन, प्रेम र समाजप्रतिको दृष्टिकोणलाई यथार्थ र भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। उनले भने, “म यो उपन्यासमार्फत परम्पराको नाममा चल्दै आएका केही गलत अभ्यासहरूलाई प्रश्न गर्ने प्रयासमा छु, र खुशी छु कि युवाहरूले त्यसलाई मनपराएका छन्।”
इन्डिगो इन्क द्वारा प्रकाशित ‘लाफा’ हाल काठमाडौं उपत्यकासहित देशभरका थुप्रै पुस्तक पसलहरूमा उपलब्ध छ। प्रकाशकका अनुसार पुस्तकको माग तीव्र गतिमा बढ्दै गएको छ र दोस्रो संस्करण छाप्ने तयारीसमेत भइरहेको छ।