काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्षको मंसिर ९ गतेसम्म अवैध रूपले चोरी पैठारी तथा निकासी गरेको १६ लाख ५३ हजारका विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।
सो अवधिमा गुल्मले ईलाम जिल्लाको सुर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरूमा गरेको कारबाहीको क्रममा स्याउ, फर्सिको बियाँ, जुत्ता चप्पल तथा मदिराजन्य पदार्थलगायत सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानमध्ये ३ हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता चप्पल, ५७० किलो फर्सिको बियाँलगायत सामान तथा चौपाया रहेका छन् ।
उक्त सामानहरू सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बीओपी मानेभञ्ज्याङ र बीओपी छब्बिसेसहितको संतुक्त टोलीले बरामद गरिएको थियो ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यकासाथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ ।