रसुवाको भोटेकोशी बाढीपीडितका लागि दुप्चेश्वर धामको पाँच लाख सहयोग

  • मिति : भदौ १२, २०८३
497 Shares
नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि दुप्चेश्वर क्षेत्र विकास कोष (श्री दुप्चेश्वर महादेव धाम) ले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतका लागि सहयोग आवश्यक रहेको भन्दै दुप्चेश्वर क्षेत्र विकास कोषले रु. ५ लाख नेपाल सरकारको नाममा जम्मा गर्ने निर्णय गरेको हो।

विपत्तिको यस कठिन परिस्थितिमा पीडित नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै कोषले सहयोग गर्ने निर्णय गरेको जनाएको छ। कोषले यो सहयोग आर्थिक सहयोग मात्र नभई विपत्तिमा परेका नागरिकप्रतिको मानवीय ऐक्यबद्धता, सहानुभूति र सेवाभाव भएको जनाएको छ।

‘सेवा नै धर्म हो’ भन्ने भावनालाई आत्मसात् गर्दै दुप्चेश्वर धामले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा आफ्नो तर्फबाट सहयोगको हात अघि बढाएको हो।

कोषले भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको शीघ्र उद्धार, राहत र सुरक्षित पुनर्स्थापनाका लागि सम्बन्धित निकायलाई प्रभावकारी रूपमा काम गर्न आग्रहसमेत गरेको छ।

त्यस्तै, बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै प्रभावित नागरिकको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभका लागि श्री दुप्चेश्वर महादेवसँग प्रार्थना गरेको छ ।