काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा ७ दिने अवधिको विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।
धनकुटा, झापा, सुनसरी र मोरङ जिल्लाका स्थानीय तहमा रहेका नगर प्रहरी तथा स्थानीय वासिन्दाहरुलाई लक्षित गरी असार ९ गतेदेखि विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
सो तालिममा आगलागी, जल उत्पन्न प्रकोप, प्राथमिक उपचार, सिपिआर, रोप रेस्क्यु, भत्केका घर तथा संरचनाहरुमा खोज तथा उद्धार लगायतका विषयहरूमा सैद्धान्तिक एवं प्रयोगात्मक अभ्यासहरू गराइने छ ।
तालिम तथा सचेतनामूलक कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा, नं. ३ कंकालिनीमाई गण मोरङ, रंगेली नगरपालिकाको सभाहल, नं. ४ गण सुनसरी, र नं. ६ छिन्ताङ्ग गुल्म धनकुटामा गरी ४ ठाउँमा सञ्चालन गरिने छ ।
तालिममा प्रत्येक ठाउँका २०–२० जना नगर प्रहरी तथा स्थानीय बासिन्दा गरी जम्मा १ सय जनाको सहभागिता रहेको छ । सो तालिम असार १६ गतेसम्म सञ्चालन हुनेछ । तालिमले विपद्मा परेकाहरूको उद्धार तथा सहयोग र विपद् स्वयंसेवक उत्पादनमा सहयोग पुग्ने विश्वास समेत लिइएको छ ।