काठमाडौं । महानायक राजेश हमालले राष्ट्र सञ्चालन गर्ने नेतृत्वमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टिको आवश्यकता औंल्याउँदै यस्तो गुणको अभाव हुँदा देशले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्।
केही दिनअघि सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्तिप्रति लक्षित गर्दै हमालले निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्नेमा सचेत गराएका हुन् ।
हमालले आफ्नो स्टाटसमा लेखेका छन्, ‘आजको ढामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ,’।
हमालले सीमा विवादबारे धारणा राख्दै सीमा सम्बन्धी बहसहरूमा सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमणलाई एउटै अर्थमा बुझ्ने गरिएको तर वास्तवमा यी पूर्णतः फरक प्रकृतिका विषय भएका स्पष्ट पारेका छन् । सीमापार अतिक्रमण प्रायः सरकारभन्दा बढी स्थानीय नागरिकसँग सम्बन्धित हुने उनको भनाइ छ ।
नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीयौंदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएका उल्लेख गर्दै उनले नदीहरूले धार परिवर्तन गर्ने, सीमा स्तम्भहरू हराउँछन् वा क्षतिग्रस्त हुँदा बस्ती विस्तार हुने बताए । यी घटनाहरू प्रायः नीतिगत नभइ भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम भएको हमालले उल्लेख गरेका छन् । तर राज्य–प्रायोजित भू–अतिक्रमणको प्रकृति पूर्णतः फरक हुने उनको धारणा छ ।
उनले लेखेका छन्, ‘यो त्यतिबेला हुन्छ जब कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुन्छ। यहाँ व्यक्तिहरू होइन, राज्यका संस्थाहरू संलग्न हुन्छन्। सडक निर्माण गरिन्छ, प्रशासनिक संरचना खडा गरिन्छ, सुरक्षा निकाय परिचालन गरिन्छ, सरकारी नक्साहरू संशोधन गरिन्छ र राज्यको अधिकार औपचारिक रूपमा लागू गरिन्छ। यसको सबैभन्दा प्रमुख उदाहरण कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र हो,’।