तारा देवीको स्मृतिमा काठमाडौँमा श्रद्धाञ्जली तथा सांगीतिक कार्यक्रम, स्रष्टाहरू सम्मानित

  • मिति : माघ ९, २०८२
2.5K Shares

काठमाडौँ। नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान र सांगीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न भएको छ। तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौँ महानगरपालिकाको सह–आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

कार्यक्रमको शुरुवात तारा देवीको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो। त्यसपछि विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरू मार्फत उनको योगदानलाई स्मरण गरिएको थियो। प्रत्यक्ष संगीत प्रस्तुति क्रममा तारा देवीका कालजयी गीतहरू गुञ्जिँदा उपस्थित दर्शक भावुक बनेका थिए।

कार्यक्रममा वरिष्ठ कलाकार किरण खरेल, दीपक जंगम, साथै संगीतकर्मी एवं काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

नेपाली गीत–संगीतको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका स्रष्टाहरूलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा गीतकार माधवप्रसाद खनाल, संगीतकार शिवशंकर मानन्धर र गायिका सङ्गीता राना प्रधान रहनुभएको छ।

आयोजक संस्था तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दिपक केसीले तारा देवीको नेपाली संगीतमा रहेको योगदान सदैव स्मरणीय रहने बताउँदै यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।