काठमाडौं। नेपालका नयाँ उदाउँदा पर्यटन गन्तव्यहरूमध्ये एक मानिएको रूबी भ्याली ट्रेकिङ मार्गको प्रवर्द्धन गर्ने उद्देश्यले “घुमौँ रुबी भ्याली” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
यो गीत हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रष्ट) को ब्यानरमा निर्माण गरिएको हो, जसको स्थापना हिमाली समुदायको सहयोगका लागि गरिएको हो। सार्वजनिक कार्यक्रममा बोल्दै ट्रष्टका अध्यक्ष रामप्रसाद सापकोटा ले म्युजिक भिडियो संस्थाको औपचारिक घोषणा पछिको पहिलो परियोजना भएको जानकारी दिए।
धादिङ निवासी पर्यटन व्यवसायी समेत रहेका सापकोटाले गीतको परिकल्पना, लेखन र निर्माण कार्य समेत गरेका हुन्। भिडियोमा कथात्मक शैलीमार्फत रूबी भ्यालीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई उजागर गरिएको छ।
काठमाडौं नजिकै अवस्थित धादिङको उत्तर भागमा पर्ने रूबी भ्याली ट्रेक पछिल्ला वर्षहरूमा यसको प्राकृतिक दृश्यावली, सांस्कृतिक विविधता र शान्त वातावरणका कारण पर्यटकहरूबीच लोकप्रिय बन्दै गएको छ। भिडियोमा गणेश हिमालको फेदीदेखि नर्सिंह धामसम्म फैलिएका मनोरम दृश्यहरू समेटिएका छन्। सापकोटाले भिडियोले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
भिडियोको विमोचन कार्यक्रममा लेखक तथा कवि नवराज लम्साल ले रूबी भ्यालीको सम्पूर्ण सौन्दर्यलाई एकसाथ प्रस्तुत गर्न सफल भएको भन्दै प्रशंसा गरे। धादिङकै निवासी लम्सालले भिडियोमार्फत जिल्लाको लुकेका सुन्दर पक्षहरू हेर्न पाएको बताउँदै, “धादिङको वास्तविक रूप अझै छायामा छ, यसलाई उजागर गर्न सबैले हातेमालो गर्नुपर्छ,” उनले भने।
भिडियोको निर्देशन बिबेक सापकोटा, निर्माण All Three Media House ले गरेको हो। सुधीर श्रेष्ठ र सगुन थापा को अभिनय रहेको उक्त म्युजिक भिडियो OSR Digital YouTube च्यानलमार्फत सार्वजनिक गरिएको छ।
