टी-२० विश्वकप छनोट : नेपाल आज कुवेतसँग खेल्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा कुवेतसँग खेल्दैछ। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ। यो छनोटमा कूल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

ती ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ए मा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् भने समूह बी मा नेपाल, जापान र कुवेत रहेका छन्। त्यस्तै समूह सी मा ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।

हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा पुगेपछि शीर्ष स्थानमा रहेका तीन टोलीले विश्वकप खेल्नेछन्। नेपालले शुक्रबार जापानसँग दोस्रो खेल खेल्ने छ।