प्रधानमन्त्री कप क्रिकेट : आर्मीले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित

  • प्रकाशित मिति : January 29, 2024
  • नयाँ सवाल

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गरेको छ ।

जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको आर्मी क्लबको यो छैटौँ जित हो । दुई खेलमा आर्मी क्लब पराजित भएको छ । सात खेलखेलेको सुदूरपश्चिम प्रदेशको भने यो तेस्रो हार हो । चार खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले ४८.३ ओभरमा अलआउट हुनुअघि दुई सय ६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने ४०.१ ओभरमा अलआउट हुनुअघि एक सय ६५ रनमात्र बनाउन सक्यो ।

सुदूरपश्चिम प्रदेशका माथिल्ला पाँच ब्याट्सम्यानले उल्लेख्य सँख्यामा रन बनाउन सकेनन् । ओपनर खड्क बोहराले खातासम्म खो ल्न सकेनन् । अर्का ओपनर राजु रिजाल ६ रनमै पेभेलियन फर्किए । राजु टोलीका कप्तान पनि हुन् । तेस्रो नम्बरका ब्याट्सम्यान नरेनभट्ट पनि १८ रनमै आउट भए । उनले १३ बलमा चार चौका हिर्काएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका प्रकाश पाण्डले पनि ११ रनमात्र बनाउन सके । गजेन्द्र बोहरा पनि १२ रनमै पेभेलियन फर्किएका थिए ।

सुदूरपश्चिम प्रदेशले टोलीको कुल स्कोर केवल ५६ रन रहँदा आफ्ना पाँच ब्याट्सम्यानलाई गुमाएको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका किरण ठगुन्नाले सुदूरपश्चिम प्रदेशलाई केही राहत दिए । उनले अर्धशतकीय पाली खेले । उनले ६८ रन बनाए । उनले ७४ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे । नारायण जोशी १३ रनमै आउट भए । शेर मल्लले टोलीको खातामा २४ रन थपे । उनले ३८ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे । नरेन साउदले तीन रन जोडे । विकास अग्री पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् ।

सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा सात रन पाएको थियो । आर्मी क्लबका बलर जितेन्द्र मुखियाले पाँच विकेट लिए । उनले ६.१ ओभरमा दुई मेडन राख्दै केवल १० रन खर्चिए । सोमपाल कामीले पनि दुई विकेट हात पारे साहब आलम, कुशल मल्ल र बसिर अहमदले पनि एक–एक विकेट लिए । त्यसअघि आर्मी क्लबका माथिल्लो क्रमका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । तल्लो क्रमका ब्याट्सम्यान कुशल मल्लले उत्कृष्ट अर्धशतकीय पाली खेल्दै आर्मी क्लबको स्कोरलाई सम्मानजनक स्थितिमा पु¥याएका थिए ।

कुशलले टोलीका लागि ७५ रनको योगदान गरे । आठौँ नम्बरमा क्रिज समाल्न आएका कुशलले केवल ६७ बलमा तीन छक्का र १० चौका पनि प्रहार गरे । आर्मी क्लबले केवल ८८ रनको कुल स्कोरमा छैटौँ विकेट गुमाएको थियो । त्यसपछि कुशल र बसिर अहमदले टोलीको स्कोरलाई दुई सय एक रनको सुदृढ अवस्थासम्म डो¥याएका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका बसिरले टोलीका लागि ३६ रनको योगदान गरे । उनले ६३ बलको सामना गरी तीन चौका पनि हिर्काए ।

आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले पनि ३० रन बनाए । उनले २८ बलको सामना गरी पाँच चौका पनि हिर्काए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीप रजालीले पनि टोलीको खातामा ३७ रन थपे । उनले ३१ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । ओपनर इमरान शेख नौ रन बनाउँदै पेभेलियन फर्किएका थिए । अनुभवी खेलाडी भीम सार्की पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान विनोद भण्डारी पनि दुई रनमै आउट भए । बिवेक यादबले चार रन बटुले ।

सोमपाल कामीले ३१ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । साहब आलमले पनि २१ रन जोडे । दशौँ नम्बरमा क्रिज समाल्न आएका उनले २५ बलमा दुई छक्का पनि हिर्काए । जितेन्द्र मुखिया पाँच रनमा अविजित रहे । आर्मी क्लबले अतिरिक्त रुपमा १० रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर भोजराज भट्ट एक्लैले ६ विकेट लिए । उनले ९.३ ओभरमा एक मेडन राख्दै ६३ र न खर्चिए । नरेन साउदले पनि तीन विकेट लिए । उनले नौ ओभरमा ३६ रन खर्चिए । विकास अग्रीले पनि एक विकेट हात पारे ।