दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई शुभकामना दिँदै नागरिकस्तरबाटै साथ दिन प्रधानमन्त्रीले गरे आग्रह

  • मिति : मंसिर ६, २०८३
344 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन कर्णालीवासीलाई नागरिकस्तरबाटै साथ र समर्थन गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत कर्णालीवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसर भएको बताएका हुन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । यद्यपि, प्रतियोगिताअन्तर्गतका मुख्य खेलहरू भने मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् ।

दशौँ राष्ट्रिय खेलकुदमा राष्ट्रियस्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेलकुद पदाधिकारी सहभागी हुने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । प्रतियोगिता कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछ ।

उनले राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ प्रतिभावान् खेलाडीको पहिचान गर्नुका साथै खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने र खेल पूर्वाधार विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

खेलकुद प्रतियोगिता कर्णालीलाई राष्ट्रियस्तरमा चिनाउने माध्यम बन्न सक्ने उल्लेख गर्दै उनले स्थानीय नागरिकको सक्रिय साथ र सहयोगबाट प्रतियोगिता थप प्रभावकारी हुने अपेक्षा गरेका छन् ।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म नौवटा संस्करण मात्रै सम्पन्न हुनु दुःखद भएको पनि प्रधानमन्त्री शाहले बताएका छन् । अब भने प्रतियोगिताको उद्देश्यअनुसार नियमित आयोजना र यसको स्तर अभिवृद्धिका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने उनको भनाइ छ ।

दशौँ राष्ट्रिय खेलकुदले खेलकुद क्षेत्रको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामनासमेत दिएका छन् ।