काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एक खेल हुँदै छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।
आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्ने योजनामा छ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार व्यहोरेको छ । ६ अंक जोडेको ऊ हाल तालिकाको तेस्रो स्थानमा छ ।
प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने सुदूरपश्चिम आजको खेलमा जित निकाल्न चाहन्छ ।
जनकपुर पनि जितसहित पुनरागमन गर्ने योजनामा छ । पाँच खेल खेलेको जनकपुरले दुईमा जित र तीनमा हार व्यहोरेको छ ।
चार अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।
जारी प्रतियोगितामा पनि आठ टोलीको सहभागिता रहेको छ । एनपिएल–३ मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।