एइपिसीको ३० वर्षे यात्रा : नवीकरणीय ऊर्जाबाट ३७ लाख घरपरिवार लाभान्वित, कार्बन व्यापारबाट ४९ मिलियन डलर आम्दानी

  • मिति : कार्तिक १९, २०८३
293 Shares

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले आफ्नो ३० वर्षे यात्रामा नवीकरणीय ऊर्जा प्रविधिमार्फत ३७ लाखभन्दा बढी घरपरिवारलाई लाभान्वित गराएको जनाएको छ।

केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। उनले सौर्य ऊर्जा, लघु जलविद्युत्, बायोग्यास र बायोमासको विकासलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिए।

केन्द्रका अनुसार तीन दशकमा १० लाखभन्दा बढी घरेलु सौर्य प्रणाली, ४१ मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत् आयोजना तथा लाखौँ स्वच्छ खाना पकाउने प्रविधि प्रवर्द्धन गरिएको छ। बायोग्यास कार्बन परियोजनाबाट सुरु भएको कार्बन व्यापारमार्फत हालसम्म करिब ४९ मिलियन अमेरिकी डलर आम्दानी गरिएको पनि केन्द्रले जनाएको छ।

मन्त्री श्रेष्ठले ‘एलपी ग्यासमुक्त पालिका’ अवधारणालाई अघि बढाउन आवश्यक तयारी थाल्न निर्देशन दिँदै स्थानीय ऊर्जा सम्भाव्यता र आवश्यकताअनुसार आत्मनिर्भर ऊर्जा प्रणाली विकास गर्नुपर्ने बताए।

समारोहमा सहभागी वक्ताहरूले नवीकरणीय ऊर्जालाई स्थानीय अर्थतन्त्र, कृषि, उद्योग र रोजगारीसँग जोड्दै निजी क्षेत्रको लगानी तथा विकेन्द्रीकृत ऊर्जा प्रणालीको विकासमा जोड दिएका छन्। केन्द्रले आगामी दिनमा स्वच्छ, भरपर्दो र जलवायु अनुकूल ऊर्जा प्रणालीमार्फत आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।