बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • मिति : कार्तिक १९, २०८३
565 Shares

काठमाडौँ : बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका निवासी ४० वर्षीय सुविन बैदारलाई पक्राउ गरेको हो । ब्यूरोका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार काठमाडौँ जिल्ला अदालतले गत असार ३२ गते बैदारलाई बैङ्किङ कसुर मुद्दामा सजाय सुनाएको थियो ।

अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो । अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका बैदार काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको गोप्य सूचनाका आधारमा प्रहरीले खोजी गरी पक्राउ गरेको ब्यूरोले जनाएको छ । पक्राउ परेका बैदारलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाएको छ ।